बजारमा निस्कियो `मिस यू`
गत बर्षको चर्चित फिल्म 'मिस यू' को डिभिडी तथा भिसिडीलाई आज शुक्रबारबाट हाईटेक इन्टरटेन्मेण्टले बजारमा ल्याएको छ । देश तथा बिदेशमा फिल्मको प्रदर्शन सकिएकाले हाईटेकले नेपाल रिलिजको ६ महिना पश्चात डिभिडी निकालेको हो । यो फिल्म गत फाल्गुन ५ गते नेपालमा रिलिज गरिएको थियो ।
सार्वजनिक प्रदर्शनबाट मिश्रित प्रतिक्रिया तथा सन्तोषजनक व्यापार गरेको यो फिल्मको डिभिडीको व्यवसाय भने राम्रो हुने आश राखेका छन् हाईटेकका सञ्चालक राजेन्द्र मानन्धर । उनी भन्छन्, 'नम्रताकै नामले पनि यो फिल्मको डिभिडी राम्रो जान सक्छ ।' सेक्स स्क्याण्डलमा परेपछिको नम्रताको यो पहिलो फिल्म हो । अझ भनौं मेरो एउटा साथी छ बाट एकाएक चर्चामा आएकी नम्रता लामो समयपछि यहि फिल्मबाट कमव्याक भएकी हुन् । जसले गर्दा पनि उनका हलसम्म पुग्न नसकेका फ्यानहरूले डिभिडी हेर्ने आश गरिएको छ ।
दिलिप रायमाझी र बरूण राणाको समेत अभिनय रहेको त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्मलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् भने निर्माण दिलिप रायमाझीले गरेका हुन् । फिल्ममा बाबु बोगटी र किचमान चित्रकारको सुमधुर संगीत सुन्न सकिनेछ । मलेशियामा सुटिङ गरिएको यो फिल्मलाई धिरजजंग शाह र राजुविक्रम थापाले खिचेका हुन् ।
Category: Gossips
0 comments